रास्वपा चितवनका सभापति सापकोटाले दिए राजीनामा

काठमाडौँ, १८ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् ।  पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।

सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए ।

गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए ।

‘पार्टी सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाएको थिए, उहाँसँग समय मिलेन’ सापकोटाले भने, ‘महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भन्नुभयो, दुई दुई सांसद र सबैभन्दा बढि समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाउनुभयो ।’

राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए । ‘माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ’ सापकोटा भन्छन्, ‘कुनै पनि पार्टीमा यस्तो अभ्यास छैन, यो पार्टीमा मात्रै केही सिमित घेराले पार्टी चलाउने काम गरेको छ ।’ सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने अठोट लिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार