राष्ट्रपति पौडेल शीतल निवास प्रवेश र भण्डारीको बिदाइ

काठमाडौं,  २९ फागुन – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी हुन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि नै  शीतल निवास छाडेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषद् सदस्य, संघीय संसदका सदस्यसहित विशिष्ट व्यक्ति,संवैधानिक अंगका प्रमुख कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार