त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

काठमाडौं, ५ चैत – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।उनले ८९४  मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

त्रिवि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठ विजयी भएका छन् । उनी ४१४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मन्दिप अधिकारीले २८८ मत पाए ।

काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् । यस्तै दोस्रोमा अनेरास्ववियु भएको छ भने तोस्रोमा अखिल क्रान्तिकारी भएको निर्वाचन समितिले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौँ उपत्यकाका १४ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन सम्पन्न भएको छ । उपत्यकामा रहेका २२ वटा आंगिक क्याम्पसहरूमध्ये १४ वटामा मात्रै निर्वाचन भएको हो ।

देशभरका क्याम्पसहरूमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक नतिजाले देखाएको छ । उपत्यकाका पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र विश्वविद्यालय क्याम्पसमा विद्युतीय मतदान भएको थियो ।

उपत्यकाभित्र आइतबार मतदान हुन नसकेका आंगिक क्याम्पसहरूमा आयुर्वेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार