नक्कली फेसबुक अकाउन्ट बनाएर प्रेमीबाट ६० लाख ठग्ने युवा पक्राउ

काठमाडौं, २६ चैत्र – सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् । आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार