दीप श्रेष्ठ र शक्ति वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

काठमाडौँ, २४ बैशाख — गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा दुई स्रष्टालाई नगद ५० हजारले सम्मान गरिएको हो । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८० बैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरियो । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा आचार्यका छोराद्वय सत्यराज, स्वरुपराज, सुरजकुमार थापाले संयुक्त रुपमा भक्तराज आचार्य र दुई सम्मानित स्रष्टाका संगीत प्रस्तुत गरेका थिए । ‘कति कम्जोर रहेछ भाग्य’, ‘हुँ यात्री’, ‘धड्कनभित्र लुकाइदेउ न’, ‘उकाली ओराली’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘वितेका कुराले’ र ‘आफैंलाई भार भयो’लगायतका गीतमा उनी तीनले प्रस्तुति दिएका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार