नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थीका नेता रिजाल पक्राउ

काठमाडौँ, ४ जेठ – नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो ।

रिजालाई केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा प्रहरीले पक्राउ गरेको हो । रिजालको गिरोहसँग आर्थिक साँठगाँठ रहेका तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रिजालले नै तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि नेपाली नेताहरुसँग पहल गरेका थिए । सो क्रममा उनले नेकपा एमालेका उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्रसमेत बुझाएका थिए ।  अहिलेसम्म रिजालसँगै यो प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । बिहीबार बिहान मात्रै हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउ परेका थिए । अझै दुई जना फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनलाई शरणार्थी प्रकरणमा भएको ठगीमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

उनलाई पनि दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोप बहादुर रायमाझीलगायतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार