काठमाडौँ, ११ जेठ – सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।
मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो ।
जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे सो भोटो देखाइने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिएका छन् । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।