कारागारबाट बाहिरिए रेशम चौधरी, पुगे पुल्चोकस्थित मन्त्री क्वार्टर

काठमाडौं, १५ जेठ – गणतन्त्र दिवसका अवसरमा आममाफी पाएका टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी कारागारबाट बाहिरिएका छन् । उनी ढोलबाजा सहित कारागारबाट बाहिरिएका हुन् । कारागारबाट छुटेपछि चौधरीले टीकापुर घटनाको पुनः छानबिन हुनुपर्ने बताएका छन्। रेशम चौधरीलाई आममाफी दिएपछि सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।

डिल्लीबजार कारागारबाट जेल मुक्त हुँदा उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् ।  उनकी पत्नीसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी थिइन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै आज बिहान रेशम जेलमुक्त भएका हुन् ।

गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदतलालको फैसला सदर गरेपछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ वर्ष अगावै जेलमुक्त भएका हुन् ।

राष्ट्रपतिबाट आम माफी पाएर जेलबाट रिहा भएका रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन्। बिहान डिल्लीबजार कारागारबाट छुटेका चौधरी सिधै मन्त्री क्वार्टर पुगेका हुन्। पुल्चोकमा उनको स्वागतका लागि सैयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित भएका छन्।

चौधरी छुट्ने भएपछि उनका समर्थक र नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता आज बिहानै कारगार परिसरमा उपस्थित भएका थिए। त्यहाँ उनलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार