संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्दै, प्रतिपक्षले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ, २२ जेठ – संघीय संसदका दुवै सदनको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ। सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसदमा आफूले प्रस्टीकरण दिने जनाएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लैले रोकेको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएको, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा एमालेले विरोध जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको मात्रै विरोध जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नागरिकता विधेयक र रेसम चौधरीको आममाफीबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ। तीन दलको अवरोध पछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक आजका लागि सुचना निकालेर स्थगित गरिएको थियो। प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित राष्ट्रियसभाको दोस्रो बैठकमा केही कार्यसूची हटाइ शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए,  ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन।’

सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसदमा आफूले प्रस्टीकरण दिने जनाएका छन्। ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भनेका छन्।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन्।

भारत भ्रमण जानु अघि नागरिकता विधयेक प्रमाणीकरण गरेको तथा सीमा विवाद मिलाउनका लागि ब‌‌गलादेशसँग पुग्ने भूमि दिए भारतसँग कालापानी साटन मन्जुर रहेको आशयको अभिव्यक्ति दिए पछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै आइतबार सदन अवरुद्ध गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार