गाउँघरमा विकासका सबैजसो पूर्वाधारहरू पुगेका छन् । वातावरण स्वच्छ छ, घरघरमै मोटरबाटो पुगेको छ । बिजुली, इन्टरनेट छ । घरै पिच्छे धारामा स्वच्छ पिउने पानी आउँछ । विद्यालय र अस्पतालका बढेमाका भवनहरु बनेका छन् ।
तर पनि गाउँमा उत्पादनशील जनशक्ति टिक्न सकिरहेको छैन । विद्यालयहरू खाली हुँदै छन्, भरखरै बनेका अस्पतालका भवनहरु जनशक्तिको अभावमा भुतबंगाला जस्ता हुँदै छन् । खेतीयोग्य जमीन बाँझो छ । वस्तीका बस्तीहरू खाली छन् र घरहरू खण्डहर हुँदै गएका छन् । यो प्रक्रियालाई अन्त्य गर्नु अहिलेको चुनौती हो । यो चुनौतीलाई अवसरमा बदल्न सकिने प्रचुर सम्भावना पनि विद्यमान छन् ।
आउनुहोस् यावत् सम्भावनाहरू मध्ये प्रमुख व्यवसायिक कृषिको बारेमा विमर्श गरौं । पहाडमा परम्परागत कृषिको सट्टामा जलबायु, भू-बनोट र माटो सुहाउँदो खेती प्रणालीको विकास गरेर कृषिलाई व्यवसायिकरण, आधुनिकीकरण र यान्त्रिकरण गर्दै उच्च प्रतिफल दिने फलफुल र चिया, कफी जस्ता नगदेबाली, रैथाने अन्न बाली तथा तरकारीको व्यापक उत्पादन, व्यवसायिक पशुपालन, कृषि र पशुजन्य उत्पादनको प्रशोधन उद्योगको स्थापना, अर्ध र पूर्ण प्रशोधित अर्गानिक कृषि उपजको ब्रान्डिङ् गरी राष्ट्रिय र अन्तर्रष्ट्रिय स्तरमा बजारीकरण गर्ने योजना सहित राज्य स्तरबाटै कृषि र कृषिजन्य उद्योगहरूलाई प्रवर्धन गर्ने हो भने पहाडबाट बसाई सराईको क्रम रोकिन गई क्रमशः सहर बाट गाउँमा बसाई सराईको प्रक्रिया सुरु हुन सक्छ ।
पहिले खेतीयोग्य जमिन तराईमा भन्दा पहाडमा महँगो थियो । पहाडको थोरै जमीन बेचेर तराईमा धेरै जमीन लिन सकिन्थ्यो । अहिले पहाडका खेतीयोग्य जग्गाको भाउ नै छैन । सडकको पहुँच भएका, सिंचाई सुविधा युक्त खोला किनारका फाँटहरू समेत बाझिएका छन् र बेच्न खोज्दा २० वर्ष अघिको भाउ पनि पर्दैन । पाखो बारीको त कुरै नगरौं । त्यसैले नयाँ प्रविधि, सीप र जाँगर सहित पहाडमा ठूलो पहिमानामा व्यवसायिक कृषि गर्ने हो भने जमीनको जति पनि उपलब्धता हुन सक्छ ।
खरिद गरेपनि मूल्य न्यून छ भने लिजमा पनि धेरै भन्दा धेरै जग्गा प्राप्त गर्न सकिने अवस्था छ । सहकारिताको माध्यमबाट छरिएर रहेको पूँजी एकीकृत गरेर सामूहिक उत्पादन प्रणालीको विकास गर्दै ठूला ठूला कृषि फर्म र प्रशोधन उद्योगहरु स्थापना गरी आर्थिक गतिविधि बढाउन र रोजगारी सिर्जना गर्न सकिन्छ । यसको लागि विभिन्न तहका सरकारहरूले व्यवसायिक कृषि र कृषिजन्य उद्योगको प्रवर्धन तथा उत्पादित कृषि उपजको बजारीकरण गर्न उपयुक्त नीति अबलम्बन गर्नु पर्छ ।
विदेशबाट व्यवसायिक र प्राविधिक दक्षताको साथै काम गर्ने जाँगर र थोरै भए पनि पूँजि समेत आर्जन गरी फर्केका रिटर्निहरूले मरूभूमिमा त खेती गर्न सकिन्छ भने आफ्नो सीप र जाँगरलाई सदुपयोग गर्दै व्यवसायिक कृषि मार्फत जैविक विविधता र हरियाली युक्त आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न आवश्यक मात्र होइन प्रचुर सम्भावना समेत विद्यमान छ । यसो गर्न सकियो भने फेरी तराईबाट पहाडमा र शहरबाट गाउँमा बसाई सराईको क्रम पनि सुरु हुन बेर लाग्दैन । जुन अत्यावश्यक र अवश्यम्भावी समेत छ ।