काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

काठमाडौं, २१ भदौ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहान ग्रान्डी अस्पतालमा निधन भएको छ । उनलाई डेंगी संक्रमणका कारण उच्च ज्वरो आएकाले अस्पतालको भेन्टिलेटरमा रहेर उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि  ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

उनी पाँच दिनअघि ग्राण्डी अस्पतालमा अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिएका हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । उनको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुगका छन् ।कांग्रेसले पशुपति आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखेको छ । हक्की स्वभावका स्पष्ट वक्ता रिजालका श्रीमती र दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार