काठमाडौं, ८ असोज – नेपाल चीनबीच १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।
बेइजिङमा चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजीटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरूको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदान प्रदान गरेका छन् ।
त्यस्तै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्य समूह निर्माणसम्बन्धी सम्झौता भएको छ । शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् ।
पशुपक्षी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच कृषि, पशुपालन र मत्स्यपालन तथा औषधिजन्य वनस्पतिको चीन निर्यात सम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।
यसैबीच चिनियाँ प्रधानमन्त्री छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए ।