१० लाख रुपैयाँ ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १२ आश्विन— अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई सुक्रबार बेलुका काठमाडौंबाट पक्राउ गरेको हो । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका एक प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको ती प्रहरीले बताए । केसी मिनभवनस्थित कार्यालयको नियन्त्रणमारहेका छन् । ठगी अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीले रावायण चलचित्रमा अभिनय गर्ने भन्दै पैसा लिएर छायांकनमा नगएपछि निर्माता पक्षले उनीविरुद्ध ठगीको उजुरी दिएको हो ।

रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।

त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको बताए ।

‘केही दिनअघिबाटै चलचित्रको छायांकन सुरू गर्ने भनिएको रहेछ । त्यसका लागि नायक–नायिका‚ प्राविधिक टोलीलगायतलाई निर्माता पक्षले १ करोड पाँच लाख रुपैयाँ बाडिसकेको रहेछ । त्यसमध्ये केसीले १० लाख रुपैयाँ बुझेर पनि छायांकनमा नगएपछि पीडितपक्ष उजुरी लिएर प्रहरीमा आएको थियो‚’ उनले भने‚ ‘त्यसपछि केसीलाई बोलाएर दुवै पक्षसँग कुरा गर्न खोज्दा प्रहरीलाई नै उनले जे गर्नु छ गरे हुन्छ भन्दै धम्क्याएपछि अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

अभिनेता केसीलाई केहीबेरअघि प्रहरीले भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरेको थियो । उनलाई ठगीको कसुरमा मुद्दा चलाइने एसएसपी राठौरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार