काठमाडौं, २६ मंसिर – नेपाली कांग्रेस जनताको पार्टी हो र जनताको पार्टी बनिरहनुको विकल्प छैन। कांग्रेस यतिबेला महासमिति बैठक (नीति महाधिवेशन)को संहारमा छ। कांग्रेसले २००७ साल यताका प्रत्येक सकरात्मक राजनीतिक परिवर्तन र विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्यो।
प्रतिगामी तत्वले पटक-पटक मुलुकलाई भड्कालोमा हाल्ने कोशिस गरे पनि हामीले त्यस्लाई असफल तुल्याउँदै आएका छौं। सगरमाथाको देशलाई हामीले कहिले झुक्न दिएनौं, बुद्धको देशले सधैँ शान्तिको सन्देश प्रवाह गर्नुपर्छ ठानिरह्यौं।
त्यसैले त २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलनलाई उपलब्धिपूर्ण सफल विसर्जन गर्न कांग्रेसले नेतृत्वदायी महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। सशस्त्र युद्धमा रहेको माओवादीलाई कांग्रेसले वार्ताका माध्यमबाट शान्तिप्रकियामा ल्यायो।
कांग्रेसले सफलताका साथ संविधानसभाको निर्वाचन सम्पन्न गर्यो। त्यसैको जगमा हामीले आज संविधान प्राप्त गरेका छौं। मुलुक संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अग्रसर भएको छ।
यसरी मुलुक परिवर्तन र विकासको सेतु बन्दै आएको कांग्रेसले आफ्नो इतिहासमा पहिलो पटक महासमिति बैठक (नीति महाधिवेशन)का माध्यमबाट देश र कांग्रेसको आगामी गन्तव्य तय गर्ने लक्ष्य लिएको छ। म स्मरण गरिरहेको छु, विशेषत: पार्टी स्थापनाको समयमा संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालगायत संस्थापक नेताहरूले तत्कालिन समाजमा व्याप्त समस्याको समाधन गर्न कांग्रेसको गन्तव्य तय गर्नु भएको थियो।
त्यसैको जगमा हामी यहाँसम्म पुग्यौं। अब पार्टीलाई थप समय सापेक्ष बनाउनुपर्ने देखिन्छ। विश्व प्रविधिले एक गाउँ जस्तो भएको छ, विकासको ढाँचा फेरिएको छ, जनताका आवश्यकता र प्राथमिकता बदलिएका छन्। यी सबै कुराको मनन् गर्दै कांग्रेसलाई समयसापेक्ष बनाउनु नै अहिलेको आवश्यकता र जनताको माग हो। बहुदलीय व्यवस्थामा सरकार सञ्चालन गर्ने दायीत्व राजनीतिक दलकै हो। जनताले नेतामा पारदर्शीता, नैतिक आचरण खोजिरहेका हुन्छन्।
विकास प्रेमी र बलियो कुटनीतिक सम्बन्ध भएको अध्ययनशील नेता जनताको पहिलो प्राथमिकतामा पर्छ। त्यसैले यो समयलाई आत्मसाथ गर्नुको विकल्प कसैसँग छैन। त्यसैले आसन्न महासमिति बैठक (नीति महाधिवेशन)मा कांग्रेसले आर्थिक समस्याको पहिचान, विकास निर्माणको नवीन ढाँचा, प्रविधिको विकास र आत्मसाथ, युवा लक्षित नीति निर्माण गर्ने समय आएको छ। राजनीतिक दलले जनताका लागि राजनीति गर्ने भएकाले नेता कार्यकर्तासँगमात्र नभएर नागरिकसँग छलफल गरेर नीति निर्माण गरी अपनत्व दिलाउन सके पार्टी र देश सञ्चालनमा ठूलो सहयोग पुग्नेमा म दृढ छु। त्यसैले मैले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने भएको हुँ।
जनभावना अनुसार पार्टीलाई कसरी अगाडि बढाउपर्ला भनेर तपाईंहरूका विचार माग गर्दै नीति महाधिवेशनमा ती कुरालाई जोडदारका साथ उठाउने छु। त्यसका लागि प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट र थुप्रै सन्चारका माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र राजनीतिकदलहरूका भाग्यविधाता आमनागरिकसँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेको छु।
https://forms.gle/qzcWwrGLyfgWKtdb9
यहाँहरूले आफ्ना अमूल्य सुझाव दिएर हामीलाई सहयोग गरिदिनु होला।
धन्यवाद!
जयनेपाल।
– तपाईंहरूकै नैनसिंह महर केन्द्रीय सदस्य,
नेपाली कांग्रेस