सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर, लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने

काठमाडौं, १३ पुस – बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँले लामिछानेलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिएको उक्त मुद्दामा शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । मुद्दाको सुनुवाइका क्रममाढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ (परिवर्तित नाम) नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

त्यस्तै अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली ‘गौशाला २६’ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।

यस मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’ को उमेरबारे पनि निकै विवाद भएको थियो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । त्यस्तै क्रिकेटर सन्दीपले ‘गौशाला २६’ लाई  नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको देखिएको अदालतको ठहर छ ।

गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाडौँले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।

अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

उनले भनेका छन्,’सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।’

यस्तै उनले काठमाडौँ जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार