सुनचाँदी व्यवसायी गजेन्द्र विश्कर्मामाथि गोली प्रहार

काठमाडौं, २१ माघ – नवलपरासीका एक सुनचाँदी व्यवसायीमागि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि शनिबार साँझ गोली प्रहार भएको हो ।

उनी पसल बन्द गरेर बर्दघाट नगरपालिका-४ देविनगरमा रहेको घरमा स्कुटीबाट फर्कंदै थिए । उनीमाथि बर्दघाट नगरपालिका-१६ को चोर गोला पुल नजिक शनिबार साँझ करिब ७ बजेर ३० मिनेट जाँदा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए । उनकाअनुसार गोली लागेर ढलेपछि विश्कर्मा चढेको लु.४८ प ७४३५ नम्बरको स्कुटरसमेत घटनास्थलमा देखिएको छैन ।

सुनचाँदी राखेर ल्याएको आशंकामा गोली प्रहार गर्ने व्यक्तिले नै स्कुटर लगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पाखुरामा गोली लागेका उनलाई तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो  अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डिएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार