पाल्पा जीप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु,१७ जना घाइते (मृतक/घाइतेको नामसहित)

पाल्पा, २ फागुन – पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा मंगलबार भएको मुस्ताङ जीप दुर्घटनामा स्थानीय ८ जनाको घटनास्थलमै मृत्यु भएको छ र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो भने  १७ जना घाइते भएका छन् ।  मंगलबार साँझ भएको जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेको छ ।

स्थानीयका अनुसार सो रुटमा नियमित चल्ने जीप भएपनि उकालोको घुम्तीमा बढी लोड भएका कारण जीप ब्याक भएको हो । जीप ब्याक भएपछि चालक तानसेन नगरपालिका वडा नं १० आमडाँडाका ४६ वर्षीय दानबहादुर चिदी पहिले नै झरेका कारण उनी सकुशल रहेका छन् । कच्ची बाटोमा रहेको उकालोको घुम्टीमा जीपको पट्टा भाँचिएको चालकले दावी गरेपनि त्यसको पुष्टि भएको छैन ।

अहिले जिल्ला प्रहरी कार्यालयले उनलाई राखेर सोधपुछ गरिएको छ । तिनाउ गाउँपालिकाका कार्यपालिका सदस्य छवि गहतराजले कच्ची बाटो उकालोको घुम्तीमा धेरै लोड भएकाले गाडी पछाडि फर्केकाले घटना भएको हुनसक्ने बताए । म स्थानीय हुँ, दैनिक त्यो बाटो हिडिरहन्छु, निकै उकालो र घुम्टी बाटो छ, अनि कच्ची बाटोमा ओभर लोड नै समस्या होजस्तो लाग्छ, चालक त अनुभवी र नियमित चलाउने मान्छे हुन् त्यो रुटमा’ उनले भने ।

जिल्ला प्रहरी पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मा उकालो, घुम्टी र बढी क्षमताकै कारण घटना भएको प्रारम्भिक निष्कर्षमा पुगिएको बताए ।

१७ घाइते प्रभास अस्पतालमा, मृतक १० जनाको सरकारी अस्पतालमा पोष्टमार्टम हुँदै

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप लुम्पेक डाँडामा दुर्घटनामा परेको तिनाउ गाउँपालिकाको कार्यपालिका सदस्य स्थानीय छवि गहतराजले बताए । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका गहतराजले जानकारी दिए ।

अहिले घाइते सबैलाई तानसेन प्रभासस्थितत लुम्बिनी मेडिकल कलेज पुराइएको र मृतक ८ जनाको शव जिल्ला अस्पतालमा राखिएको र दुई जनाको उपचारको क्रममा मृत्यु भएको  तिनाउ ६ का वडाध्यक्ष टोमबहादुर पुनले बताए । घाइते सबैको पहिचान खुलेपनि मृतक सबैको नाम खुलेको छैन ।

मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहनुभएको छ । यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै तिनाउ–२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट–१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका–५, की २९ वर्षकी दिलमाया जिसीको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सात जना बालबालिका घाइते भएका छन् । प्रहरीका अनुसार रिव्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार घाइते हुनुभएको छ । यस्तै तिनाउ–६, का सौरभ पुन, रुपन्देही खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यस्तै तिनाउ–६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली घाइते हुनुभएको छ । रिव्दीकोट–१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन–१० का दानबहादुर चिदी, तिनाउ–२, की कमला सुनार घाइते हुनुभएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार