अमेरिकाको बाल्टिमोरमा पानीजहाज ठोक्किएर पुल भासिँदा ६ जना बेपत्ता

एजेन्सी – अमेरिकाको बाल्टिमोरमा मालबाहक पानीजहाज ठोक्किएर पुल भासिँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। मंगलबार साँझ बाल्टिमोरस्थित पाटाप्स्को नदीको ‘फ्रान्सिस स्कट कि ब्रिज’को पिलरमा पानीजहाज ठोक्किएको थियो। पानीजहाज पिलरमा ठोक्किएर सँगै पुल भासिएपछि पुलको मर्मत गरिरहेका ८ जना मजदुरहरू नदीमा खसेका थिए।

बिबिसीका अनुसार तीमध्ये २ जनालाई उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये १ जनाको स्वास्थ्य गम्भीर भएको अमेरिकी कोस्ट गार्डलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ। बाँकी ६ जना भने अझै नदीमा हराइरहेका छन्।

‘उहाँहरूको खोजीका लागि सबै प्रयासहरूलाई जारी राखेका छौं। तर अब जिवित भेटिनुहुन्छ भन्ने हामीलाई लाग्दैन,’ अमेरिकी कोस्ट गार्डका एक अधिकारीले प्रेस ब्रिफिङमा भनेका छन्।

अत्यधिक चिसोका कारण उद्धार कार्य कठिन भएको पनि उनले बताएका छन्।  जहाज सञ्चालन गर्ने सिनर्जी ग्रुपले जहाजमा रहेका चालक दलका सबैजना सुरक्षित रहेको बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार