टेलिकमको प्रबन्ध निर्देशकमा संगीता नियुक्त, पदभार ग्रहण

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।मन्त्रिपरिषद्को गत बिहीबारको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आइतबार संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत १७ गतेको निर्णय बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् । उनले २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् ।

उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिबद्धता व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार