काठमाडौं, – अरनिको राजमार्गको भरपर्दो वैकल्पिक मार्गका रूपमा रहेको बनेपा-नाला-ताथली सडकखण्ड पुनः अवरुद्ध भएको छ । शुक्रबार राति भाँचिएको पुलको स्थानमा अस्थायी रूपमा राखिएको ह्युमपाइप आइतबार साँझको भीषण बाढीले बगाएपछि राजधानीको पूर्वी नाकाबाट हुने आवतजावत फेरि प्रभावित बनेको हो ।
स्थानीयका अनुसार शनिबार राति एक मालवाहक गाडी पार गरेलगत्तै वि.सं. २०३७ मा निर्मित उक्त पुल भाँचिएको थियो । करिब ४५ वर्ष पुरानो र जीर्ण अवस्थामा रहेको पुल भाँचिएपछि पूर्ण रूपमा अवरुद्ध सडक खुलाउन आइतबार हतारमा ह्युमपाइप राखेर अस्थायी संरचना बनाइएको थियो । तर, त्यो कमजोर प्रयास पनि २४ घण्टा नबित्दै निरर्थक साबित भयो जब आइतबार साँझ परेको अविरल वर्षापछिको बाढीले ह्युमपाइप नै बगाएर सडकलाई क्षतविक्षत बनायो ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडक विस्तार कार्य जारी रहेकाले यो सडकखण्डमा सवारीको चाप अत्यधिक बढेको थियो । विगत दुई वर्षदेखि काठमाडौंबाट मध्यपूर्व क्षेत्रतर्फ बाहिरिने र राजधानी भित्रिने हजारौँ साना तथा ठूला सवारी साधनले यही वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। सडक पुनः अवरुद्ध हुँदा हजारौँ यात्रु र ढुवानी व्यवसायी पुनः मर्कामा परेका छन् भने अरनिको राजमार्गमा थप जामको समस्या बढेको छ ।