काठमाडौं – बडादशैंको पावन अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक शुभकामना सन्देश जारी गर्दै नेपाललाई भूराजनीतिक चक्रव्यूहबाट मुक्त राखी अखण्ड नवनिर्माणको दिशामा अघि बढ्न आह्वान गरेका छन् । उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै अब बिगार्ने होइन, सपार्नेतिर ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
पूर्वराजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’
उनले बाह्य प्रभावबाट मुक्त भई आफ्नै विवेक र सामर्थ्यमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । शाहले हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी रहेको बताएका छन् । यसबाट उनले लोकतान्त्रिक मूल्यमान्यता र जनताको भावनालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएको देखिन्छ । जनताको आवाज सुन्ने र सोही अनुरूप नीति निर्माण गर्ने परिपाटीले मात्र दिगो विकास सम्भव हुने उनको आशय हो ।
नयाँ पुस्ताको बढ्दो अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्नेमा पूर्वराजा शाहको विशेष जोड छ । उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्दछ ।’
पूर्वराजा शाहले युवा पुस्तामा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने बताएका छन् । उनले भने, ‘यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’
