धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारको मृत्यु, दुई बालबालिका गम्भीर

by onn

काठमाडौं, १६ कार्तिक – धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन् । शनिबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा दुर्घटना भएको हो ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार, दुर्घटनामा चारै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगर रहेका छन् । उनीहरू एकै परिवारका सदस्य हुन् । यसैगरी, सोही अटो रिक्साका चालक अन्दाजी ४० वर्षीय डम्बर राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Comment