प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा एमाले, सांसदहरुको हस्ताक्षर संकलन तीव्र

by onn

काठमाडौं, २३ कार्तिक – नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा आफ्ना निवर्तमान सांसदहरूको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ । यही कात्तिक २० गतेदेखि सुरु भएको यो अभियानमा हालसम्म २० भन्दा बढी सांसदले हस्ताक्षर गरिसकेको एमाले स्रोतले जनाएको छ, यद्यपि यकिन संख्या सार्वजनिक गरिएको छैन ।

पार्टीका निवर्तमान सांसदहरू हाल जिल्ला तथा वडा/पालिकास्तरीय कार्यक्रमहरूमा व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध सांसदहरूले हस्ताक्षर संकलनको नेतृत्व गरिरहेका छन् । एमालेले गत शुक्रबार वडास्तरीय भेला सम्पन्न गरिसकेको छ भने कात्तिक २५ गते पालिकास्तरीय भेला गर्ने तयारीमा छ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा विशाल प्रदर्शनको आयोजना गर्ने कार्यक्रम छ। यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सशक्त दबाब दिने नीति लिएको छ । यसलाई महाधिवेशनको तयारीका रूपमा पनि व्याख्या गरिएको छ ।

पार्टी नेताहरूका अनुसार सर्वोच्च अदालतमा समेत प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा निवर्तमान सांसदहरूको जनमत कस्तो छ भन्ने प्रश्न उठेकाले यसको प्रतिउत्तरका रूपमा हस्ताक्षर संकलन सुरु गरिएको हो । निवर्तमान सांसदहरू अहिले निवेदनसहित अदालत जाने वा पुनस्र्थापनाको पक्षमा आफ्नो मत मात्र प्रकट गर्ने भन्नेबारे छलफलमा छन् ।

गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएपछि यसअघि नै सर्वोच्च अदालतमा पुनस्र्थापनाको माग गर्दै १६ वटा निवेदन दर्ता भइसकेका छन् । ती निवेदनमाथि प्रारम्भिक छलफल भई कारण देखाऊ आदेशसमेत जारी भइसकेको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

सम्बन्धित खबर

Leave a Comment