काठमाडौं, २८ आश्विन – नेपालीहरूको महान् पर्व तिहार नजिकिएसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार, २०८० साल कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको टीका लगाउनु उत्तम हुनेछ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिँदै कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपर्ने भए पनि विशेष साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभसाइत निर्धारण गरिएको बताउनुभयो। समितिका सदस्य प्रा. देवमणि भट्टराईले भने, “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन।”
यस वर्षको यमपञ्चकको विस्तृत तालिका:
- कात्तिक १ गते (शनिबार): यमपञ्चकको सुरुवात। यसै दिनदेखि यमदीप दान गरिन्छ। धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
- कात्तिक २ गते (आइतबार): काग तिहार। यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ।
- कात्तिक ३ गते (सोमबार): बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा। यसै दिन साँझ दीपमालिका गरिन्छ। कात्तिक ३ गते दिउँसो ०२:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ। सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ।
- कात्तिक ४ गते (मङ्गलबार): औँसी तिथिमा गरिने स्नान, दान भने बिहान गर्नुपर्नेछ। कात्तिक ४ गते दिउँसो ०४:२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ।
- कात्तिक ५ गते (बुधबार): गाई, गोरु र आत्म (म्ह) पूजा। कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख छ। विशेष गरी नेवार समुदायले मनाउने यो पूजाका लागि समितिको स्वीकृति प्राप्त तीनै पात्रो (पञ्चाङ्ग) मा कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय उल्लेख छ।
- नेपाल संवत् नयाँ वर्ष: कात्तिक ५ गते बुधवार नै नेपाल संवत् अनुसार नयाँ वर्ष मनाइनेछ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो। यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ।
- कात्तिक ६ गते (बिहीबार): भाइपूजा र नेवारी भाषामा किजापूजा मनाइनेछ। मङ्सिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहे पनि शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइनेछ।
भ्रातृपूजाको महिमा:
शास्त्रीय ग्रन्थमा ‘भ्रातृपूजा’ भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने समितिले जनाएको छ। भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले बताएको छ।
यमपञ्चक र यमदीपदान:
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चकमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ। परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिने यस यमदीपदानले यमयातनाबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। साथै, काग र कुकुरलाई यमदूतका रूपमा मीठा परिकार खुवाएर खुसी बनाउँदा यमलोकमा सहयोग मिल्ने वैदिक परम्परा रहेको छ।