काठमाडौँ – संविधान दिवसको अवसरमा आज बिहान काठमाडौँमा बृहत् शान्ति र्यालीको आयोजना गरिएको छ। शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालले आयोजना गरेको यो र्याली माइतीघरबाट सुरु भई भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै पुनः माइतीघरमा पुगेर सभामा परिणत भएको थियो।
र्यालीमा संविधानविद्, पत्रकार, वकिल, मानव अधिकारकर्मी, शिक्षक, बुद्धिजीवी लगायत विभिन्न पेसा र व्यवसायका नागरिकहरू सहभागी थिए। उनीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’ र ‘शान्ति स्थापना गरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सहभागीहरूले २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको स्मरण गर्दै समयसापेक्ष यसमा संशोधन र सुधार गर्दै जानुपर्नेमा जोड दिए।आजै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस मूल समारोहको कार्यक्रम भइरहेको छ।