सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार

by onn

काठमाडौं, ९ कार्तिक – प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमा आज तेस्रो पटक विस्तार गर्दा चार नयाँ मन्त्रीहरू थपिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम मन्त्री पदका लागि राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ । उनीहरूको शपथ ग्रहण आजै हुने तयारी छ ।

कार्कीले पहिलो पटक मन्त्रिपरिषद् गठन गर्दा रामेश्वरप्रसाद खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा ओम प्रकाश अर्याललाई गृह; कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएकी थिइन् ।

दोस्रो पटक विस्तार गरेर मन्त्रिपरिषद् ८ सदस्यीय बनाउँदा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी पनि तोकिसकिएको छ । डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारले श्रम तथा रोजगार मन्त्रालय र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । राष्ट्रपति कार्यालयले केही बेरमा शपथ ग्रहणको समय सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा गुप्तालाई युवा तथा खेलकुद, सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले दिएकी छन् । गुप्ता, सुनार र डा. शर्मालाई आफूले सम्हालेका मन्त्रालयको जिम्मेवारी दिएकी कार्कीले श्रेष्ठलाई भने सिन्हाले सम्हालेको मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन् ।

अब मन्त्री घिसिङको काँधमा ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गरी तीन मन्त्रालयको जिम्मेवारी छ । मन्त्री सिन्हाको काँधमा कानुन न्याय तथा संसदीय मामिला र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी छ ।

कार्कीले पहिलो पटक मन्त्री बनाउँदा ओमप्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी दिएकोमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा अर्यालबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय खोसेकी थिइन् । आइतबार सिन्हासँग भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी खोसेकी छन् ।  

सम्बन्धित खबर

Leave a Comment