दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

by onn

रुपन्देही, ८ फागुन – दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी …, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ ।

सुर्खेतबाट राति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।

यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् । ‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।

आफ्नो पार्टीको झण्डा जलाएकोमा एमाले महासचिव शंकर पोखरेलले अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् । सामाजिक सञ्जालमा महासचिव पोखरेलले झण्डा जलाएर आस्थामा चोट पुर्याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छ्न् । पोखरेलको भनाइ छ, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’

यसैगरी एमाले दाङले घटनाप्रति कडा आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ । जिल्ला सचिव श्याम डाँगीले प्रचार सामग्री खोसेर जलाउने र सार्वजनिक सवारी साधनमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको बताएका छन् । उनका अनुसार निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विषयमा आशंका उत्पन्न गरेको छ । उनले सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । “निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता गतिविधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ । लोकतन्त्र विरोधी यस्तो कार्यले निर्वाचन मुठभेडतर्फ जान सक्छ । सुरक्षा निकायले गम्भीर ध्यान दिई दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ”, सचिव डाँगीले भनेका छन् ।

त्यस्तै कोमल वलीले उक्त गतिविधिलाई घोर निन्दनीय र अराजकतापूर्ण भन्दै लोकतान्त्रिक सहिष्णुतामाथिको प्रहार भएको टिप्पणी गरेकी छन् । उनले राजनीतिक दलहरूबीच विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै प्रतिद्वन्द्वी दलको प्रतीक वा झण्डामाथि आक्रमण गर्नु समग्र लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको बताएकी छन् र निर्वाचन आयोगको आचारसंहिता उल्लंघन भएको दाबीसमेत गरेकी छन् ।

सम्बन्धित खबर

Leave a Comment