सिमेन्ट उद्योग को धुलोले स्थानीय मारमा

by onn
Published: Updated:

सुप्रभा शर्मा

हेटौँडा, ४ जेठ – हेटौँडा उपमहानगरपालिका भित्र तीन वटा सिमेन्ट उद्योग सञ्चालनरत छन् । उद्योगबाट निस्कने धुलो र धुवाँका कारण हेटौँडावासी चिन्तित र प्रभावित छन् । प्रदूषणले दैनिक जनजीवन मात्र नभई स्वास्थ्य र कृषि क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको छ। उद्योगबाट निस्कने धुलोका कारण कृषिमा राम्रो उत्पादन नहुने र दम खोकी जस्ता रोगहरू मानवमा लाग्ने गरेको स्थानीयहरू बताउँछन्।

नेपालमा रहेका धेरै उद्योगहरू प्रदूषणका मुख्य स्रोत बनेका छन् । त्यसमध्ये सिमेन्ट उद्योग अझ बढी प्रदूषण फैलाउने उद्योगका रूपमा वातावरणीय मापनको नतिजाले पनि देखाएको छ । नेपालमा “देश विकास हुनु भनेको कलकारखाना स्थापना हुनु हो” भन्ने मान्यता रहेको भए पनि यस्ता उद्योगले निम्त्याउने जोखिमबारे पर्याप्त चासो र ध्यान दिइएको देखिँदैन । यसले आम नागरिकको स्वास्थ्य र जनजीवनमा कति असर गरिरहेको छ, भन्ने विषयमा सरकार गम्भीर नभएको स्थानीयको गुनासो छ ।

नेपालका ठूला सिमेन्ट उद्योगमध्ये गनिने तीन उद्योग एउटै पालिकाभित्र रहेका छन् । हेटौँडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट लिमिटेड र रिद्धि सिद्धि सिमेन्ट कम्पनी । यी तीनै उद्योग हेटौँडा उपमहानगरपालिकाका वडा भित्र सञ्चालनमा छन् ।

स्थापनाकालदेखि नै यी उद्योगहरूले धुवाँ, धुलो तथा आवाजजन्य प्रदूषण फैलाउँदै आएका छन् । नियमअनुसार मानव बस्तीबाट कम्तीमा २ किलोमिटर टाढा उद्योग हुनुपर्ने भए पनि यी उद्योग बस्ती नजिकै सञ्चालनमा छन् । कतिपय स्थानमा उद्योग र बस्तीबीचको दूरी १०० मिटर पनि छैन । मानव बस्तीको अत्यन्त नजिक सञ्चालन गरिएका यी उद्योग स्थानीयका लागि पीडा र रोगको कारण बनिरहेका छ ।

स्थानीयका अनुसार उद्योग स्थापना हुँदा आफूहरूलाई पर्याप्त जानकारीसमेत दिइएको थिएन । हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्ट लिमिटेड बस्तीबाट करिब ५० मिटरको दूरीमा रहेको छ । त्यति मात्र नभई, साना उमेरका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय पनि उद्योगको अत्यन्त नजिक रहेको छ । उद्योगबाट निस्कने धुलो, धुवाँ र ठूलो आवाजले विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा गम्भीर असर पारिरहेको विद्यालय प्रशासनको भनाइ छ ।

उद्योगको धुलो र धुवाँका कारण त्यहाँको जनजीवन त्रसित बनेको छ । केही समयअघि स्थानीयवासी आन्दोलनमा उत्रिएका, उद्योगमा तालाबन्दी गरेका तथा विरोध प्रदर्शन गरेका घटनासमेत भएका थिए । तर त्यसको प्रभावकारी समाधान भने अझै हुन सकेको छैन । स्थानीयका अनुसार उद्योगमा कोइलाको सट्टा फोहोर प्लास्टिक जलाइँदा झन् बढी प्रदूषण फैलिएको थियो । यस विषयमा पालिकाले अनुगमन गरेको भनिए पनि अन्य समस्याको समाधान नभएको स्थानीयको गुनासो छ ।

विशेषगरी रातिको समय र हावाहुरी चल्ने बेला उद्योगबाट अत्यधिक धुलो र धुवाँ निस्कने गरेको स्थानीय बताउँछन् । त्यतिबेला गाउँ नै धुलो र धुवाँले ढाकिने अवस्था हुने गरेको छ । यसले स्थानीयको स्वास्थ्यमा कति असर गरिरहेको छ भन्ने प्रश्न बारम्बार उठिरहेको छ ।

यति मात्र नभई, सिमेन्ट उत्पादनका लागि आवश्यक ढुङ्गा उत्खनन गरिने खानी क्षेत्र वरपर पनि अनेक समस्या देखिएका छन् । पहाड काटेर ढुङ्गा निकाल्दा पहिरो जाने, पहाडको प्राकृतिक संरचना कमजोर हुने तथा सवारी दुर्घटनाको जोखिम बढ्ने समस्या दैनिकजसो देखिने गरेका छन् ।

यस विषयमा स्थानीय सरकारको ध्यान जान अत्यन्त आवश्यक देखिन्छ ।  समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीय सरकार अपेक्षाकृत पछि परेको देखिन्छ । कहाँ के आवश्यक छ भन्ने विषयमै पर्याप्त योजना र चासो नभएको स्थानीयको आरोप छ । सानो देखिने समस्या पनि मानव स्वास्थ्य र मानव अधिकारसँग जोडिएको गम्भीर विषय हो भन्ने चेतना जगाउन स्थानीयहरू निरन्तर लागिपरेका छन् ।

सम्बन्धित खबर

Leave a Comment