नयाँ राष्ट्रवादी पार्टीको निर्माणमा धवल–दुर्गा, गठन गरे ३१ विभाग

by onn

काठमाडौं, ३१ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्।

दल निर्माणको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यले उनीहरूले ३१ वटा विभिन्न विभाग गठन गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणा र प्रसाईंले संयुक्त रूपमा विभाग प्रमुखहरूलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

आयोजकका अनुसार पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको छ। विभागहरूमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायतलाई जिम्मेवारी दिइएको छ।

गत २१ जेठमा राप्रपा महामन्त्री धवलशमशेर राणासहितका नेताहरूले पार्टी परित्याग गरेका थिए। त्यसपछि राणाको समूह र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच सहकार्य सुरु भएको हो।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूले कार्यकर्तामाथि अनावश्यक कारबाही गरेको आरोप लगाए। उनले बालेन्द्र शाह नेतृत्वको प्रशासनले १०० दिन नपुग्दै विभिन्न गल्तीहरू गरेको टिप्पणी समेत गरे। नयाँ पार्टीको औपचारिक घोषणा र भावी राजनीतिक कार्यदिशाबारे भने नेतृत्वले चाँडै थप जानकारी दिने जनाएको छ।

सम्बन्धित खबर

Leave a Comment