प्रधानमन्त्रीको ‘देश बनाउने टोली’ स्टाटसमाथि संसदमा कटाक्ष

by onn

काठमाडौं, १ असार – नेकपा सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको ‘देश बनाउने टोली’ सम्बन्धी स्टाटसलाई लिएर प्रतिनिधिसभामा कटाक्ष गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै दुलालले प्रधानमन्त्री बिदा मनाएर फुर्सदमा भइसकेकाले अब देशका गम्भीर समस्यातर्फ ध्यान दिनुपर्ने बताए। उनले उद्योग, रोजगारी र अर्थतन्त्रसँग सम्बन्धित विषयमा सरकारको जवाफ आवश्यक रहेको उल्लेख गरे।

दुलालले भारतले निर्यातमा अवरोध गरेपछि मेची क्षेत्रका चिया उद्योगहरू संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए। साथै, सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिन र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन माग गरे।

प्रधानमन्त्री शाहले आइतबार गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए। उक्त पोस्टलाई लिएर मन्त्रिपरिषद्का अन्य सदस्यको अवमूल्यन गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।

आलोचनापछि प्रधानमन्त्री शाहले स्पष्टीकरण दिँदै उक्त पोस्ट ठट्टाका रूपमा गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।”

सम्बन्धित खबर

Leave a Comment