ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

by onn

काठमाडौं, ६ असार – ब्राजिलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा हाइटीमाथि सहज जित दर्ता गरेको छ। फिलाडेल्फियास्थित फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे। कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफको अतिरिक्त समयमा भिनिसियसले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए।

दोस्रो हाफमा ब्राजिलले खेल नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन। हाइटीले केही अवसर सिर्जना गरे पनि ब्राजिलको रक्षापंक्ति र गोलरक्षक एलिसनलाई खासै दबाब दिन सकेन।

यस जितसँगै ब्राजिल चार अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान चार अंक भए पनि गोलअन्तरका आधारमा ब्राजिलले मोरक्कोलाई पछि पारेको हो। लगातार दोस्रो हार बेहोरेको हाइटी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।

अब ब्राजिलले आफ्नो अन्तिम समूह चरणको खेलमा स्कटल्यान्डको सामना गर्नेछ भने हाइटीले मोरक्कोसँग खेल्नेछ।

सम्बन्धित खबर

Leave a Comment