काठमाडौं, ६ असार – नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गरेको हो ।
संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गरेको हो ।
३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो ।समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।
प्रज्ञा भवनमा आयोजित सभामा कांग्रेस इतर पक्षका नेताहरू खड्का र सिंहसहित कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, बिमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला लगायत उपस्थिति छन् ।
