पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड

by onn
Published: Updated:

काठमाडौं, १४ फाल्गुन आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदै छ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ ।

आज बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, रु ३५ हजार र रु ६५ हजारको रसिद काटिएको पनि कोषले जनाएको छ । घामले तातिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजन पनि बढ्न थालेका छन्

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।

हंसमण्डपमा विभिन्न सङ्घसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।

महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव, भक्तपुरको डोलेश्वर मन्दिर, अर्घाखाँचीको सन्धिखर्क शिवालय, कैलाली धनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा भक्तजनको भीड रहेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाइँदै छ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्।

 

सम्बन्धित खबर

Leave a Comment