भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता, उर्लंदो भेलले खोज तथा उद्धारमा कठिनाइ

by onn

काठमाडौं, जाजरकोटको नलगाड नगरपालिकाबाट रुकुम पश्चिमतर्फ आउँदै गरेको एक टिपर मङ्गलबार राति भेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । भेरी करिडोर निर्माण कार्यमा संलग्न यती बिल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४, पिपलचौरस्थित सडकबाट नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिवकुमार चौधरीका अनुसार, दुर्घटनामा परेकाहरूमा टिपर चालक दाङ निवासी ३५ वर्षीय मनिराम चौधरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-३ का धनवीर बराइली र अर्का एक जना पहिचान नखुलेका व्यक्ति रहेका छन् । पहिचान नखुलेका व्यक्ति एक्स्काभेटरका सहचालक रहेको बताइएको छ । उनीहरू आठबीसकोट-११, चिसापानीस्थित कार्यस्थलबाट आठबीसकोट-१४, छेपारेतर्फ फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

गएराति करिब ८ बजेतिर भएको उक्त दुर्घटनापछि तत्कालै खोजी कार्य सुरु गरिएको थियो । बेपत्ताहरूको खोजीका लागि रुकुम पश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ । यद्यपि, भेरी नदीमा पानीको बहाव अत्यधिक बढेकाले खोजी तथा उद्धार कार्यमा गम्भीर चुनौती थपिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । उनले भने, ‘नदीको उर्लंदो भेल र धमिलो पानीका कारण टिपर र बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन निकै कठिन भइरहेको छ ।’

दुर्घटनाग्रस्त टिपर नदीमा डुबेको अवस्थामा रहेको र हालसम्म फेला पर्न सकेको छैन । बेपत्ता भएकाहरूको अवस्था पनि अज्ञात रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर