काठमाडौं, २० भाद्र – नेकपा (एमाले) को विधान महाधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ओलीले ९१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका हुन्।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, परराष्ट्र नीति र पार्टीलाई आगामी २०८४ सालको निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी तयारीमा जुट्न आह्वान गरिएको छ। यसको अर्थ नेकपा (एमाले) को नेतृत्वमा सिंगल मेजोरिटी ल्याउने गरी पार्टीलाई परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रतिवेदनमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर मुलुकलाई समृद्ध बनाउन पार्टी निर्माणमा जोड दिइएको छ। यसपछि महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरिरहेका छन्। महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनसहित निर्वाचन, लेखा, र अनुशासन आयोगका प्रतिवेदनहरू पनि आजै पेश गरिने एमालेले जनाएको छ।
यी प्रतिवेदनहरूमाथि भोलिबाट नौ वटा समूह बनाएर छलफल हुने पनि गौतमले जानकारी दिए।