धनगढी, २५ भदौ – पाँच पटकका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजू देउवामाथि भदौ २४ गते (मंगलबार) जेन-जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय व्यवहारको देउवा सेवा समाजले घोर निन्दा र भत्र्सना गरेको छ ।
देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ ।
समाजका अध्यक्ष गजैसिंह देउवाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समकालीन नेताहरू घर छाडेर भाग्दा पनि देउवा आफ्नै निवासमा दृढतापूर्वक बसिरहनुभएको थियो । उहाँ कुनै राजनीतिक विरासतबाट होइन, झुपडीबाट उठेर देशका लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो ।’
विज्ञप्तिमा घटनाको दोष जेन-जी आन्दोलनकारीहरूमाथि नखुलाइ, यसलाई सुनियोजित हमला भन्दै आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै समाजले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
यता, शेर बहादुर देउवाका समर्थक र शुभेच्छुकले घट्नाको गहिरो दुःख व्यक्त गर्दै देउवाको योगदानको स्मरण गरेका छन् । घट्नापछि सामाजिक सञ्जाल तातेको छ ।
जेनजी आन्दोलनकारीका नाममा मंगलबार अपरान्ह भएको कुटपिटको घट्नापछि देउवा दम्पत्तिप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्नेदेखि आलोचनासम्मका स्टाटस पोष्ट भइरहेका छन् ।
स्टाटसमा भनिएको छः
‘आदरणीय शेरबहादुर देउवा तथा आरजू राणा देउवा !
सलाम छ तपाईंहरुलाई एक रत्तिपनी नडाराई कहि कतै नभागी आफ्नै घरमा बसी परिस्थितिको सामना गर्न तयार हुनुभयो । तर विचलित हुनु भएन । भाग्न चाहनु भएको भए तपाइँहरू पनि अरु नेताहरू जस्तो भाग्न र लुक्न सक्नुहुथ्यो तर नबिराउनु नडराउनु भनेर आफ्नो निवास छोड़नु भएन !
लात्तीदेखि ढुङ्गाको वर्षा सहनु भयो तर आत्तिनु भएन ! तपाईंहरू दुबैको सिघ्र स्वास्थ्य तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु र सधैं तपाईंको साथमा रहनेछु। स्टकुल देबताले सधै रक्षा गर्ने छ्न ।
तपाईंले आज सजाय पाउनुको कारण के यी नै हुन् ?
-तपाईंले वाक् स्वतन्त्रताको लागि लड्नुभयो ।
-तपाईंले शान्तिका लागि लड्नुभयो ।
-तपाईंले जनमतको लागि संघर्ष गर्नुभयो ।
-तपाईंले सुदूरपश्चिममा परम्परागत छाउपडी प्रथाको विरुद्ध आवाज उठाउनुभयो।
-तपाईंले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्नुभयो।
-तपाईंले महिला आयोग स्थापना गर्नुभयो ।
-तपाईंले निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्नुभयो ।
-तपाईंले राजतन्त्रको विरुद्ध जनताको पक्षमा उभिनुभयो ।
-तपाईंले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुभयो ।
-तपाईंले हलिया प्रथा अन्त्य गर्नुभयो ।
-तपाईंले सामाजिक सञ्जाल बन्द हुनुहुँदैन भन्नुभयो ।
-तपाईंले बालेनलाई कारबाही गर्न हुँदैन भन्नुभयो ।
-तपाईंले देशलाई माया गर्नुभयो ।
-तपाईंले नेपाली जनताको हकअधिकारका निम्ति लड्नुभयो ।
-हजारौँ सुत्केरी महिला तथा नवजात शिशुहरुको ज्यान बचाएर मानव सेवा गर्नु भयो ।
अनि नेपालमा समावेशीताको प्रादूर्भाव मात्रै होइन पूर्ण कार्यान्वयन गर्नुभयो जहाँ कदमजम (कर्णाली, दलित, महिला, जनजाति र मधेस) विकासको स्पष्ट सिद्धान्त स्थापित गरि संविधानमा नै स्थापित गर्नुभयो ।’