काठमाडौँ, १ आश्विन – जनमत पार्टीभित्र नेतृत्वको शैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीकै शीर्ष तहका नेताहरूले २४ घन्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खनासहित प्रवक्ता डा. शरद सिंह यादव, युवा संघका संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष राउतलाई स्वेच्छिक रूपमा पदबाट हट्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाइएको छ । ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरण आवश्यक छ । पार्टीभित्र पनि सोही अनुरूप समीक्षा अपरिहार्य भएको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेताहरुले अध्यक्ष राउतको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, तथा जनभावनासँग विमुख गतिविधिहरुले पार्टीको मूल उद्देश्यबाट पार्टीलाई विचलित बनाएको आरोप लगाएका छन् । उनीहरूको दाबी अनुसार, हालको नेतृत्वमा पार्टी आफ्नो विचार र मार्गदर्शनअनुसार अघि बढ्न असफल भइरहेको छ ।