विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष इन्टरनेट अफर सार्वजनिक

by onn
Published: Updated:

काठमाडौं – नेपाल टेलिकमले देशभर उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवाको माग बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ। यस योजना वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि हो।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे। मन्त्री खरेलले आर्थिक रूपले सक्षम नभएका विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्न सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए। उनले जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्न पनि निर्देशन दिएका छन्।

कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

मूल्य तथा अवधि: करसहित रु. ४,९९९ मा एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट सेवा।

अन्य शुल्क: साविकको जडान शुल्क रु. ५०० थप लाग्नेछ।

निःशुल्क सुविधा: विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन्।

आवेदन प्रक्रिया: विद्यार्थीले १९८ मा सम्पर्क गरी, डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।
यो अफर आजबाट सुरु भई २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ। विद्यार्थीले आवेदन फारमका साथ भ्यालिड विद्यार्थी आइडी कार्ड र स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र अनिवार्य संलग्न गर्नुपर्नेछ।

सम्बन्धित खबर

Leave a Comment