काठमाडौं, २६ माघ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्ना कुरा प्रष्ट रूपमा राख्न अरूलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न सुझाव दिए।
उपसभापति शर्माले कांग्रेसको इतिहास र सभ्यताको ख्याल गर्दै निर्वाचनमा होमिन निर्देशन दिँदै कसैलाई गाली गर्नुभन्दा आफ्ना एजेन्डा जनतालाई बुझाउनु र पार्टीलाई जिताउनु मुख्य प्राथमिकता हुनुपर्नेमा जोड दिए।
उनले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीभित्रको मैलो पखालेको दाबी गर्दै अब देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकताका साथ चुनावमा होमिएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिए।
फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै पार्टीले २१ दिने विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले जिल्ला, प्रदेश र केन्द्रले खटाएका बाहेक अन्य सबै नेताहरू २१ दिनसम्म आफ्नै वडामा खटिनुपर्ने स्पष्ट पारे। आफ्नो वडा छोडेर अर्काको वडामा जानु आवश्यक नरहेको भन्दै उनले आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्याउन कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले यस पटक कांग्रेसले देशभर ७५ प्रतिशतको हाराहारीमा युवा र नयाँ उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेको जानकारी दिए।
चितवनका विभिन्न क्षेत्रका उम्मेदवारहरू राजेन्द्र बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङले पनि कांग्रेसलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए। उनीहरूले कांग्रेसले गरेका राम्रा कामबारे जनतालाई जानकारी गराउँदै नयाँ मतदाता जोड्ने अभियानलाई तीव्रता दिनुपर्ने बताए। कार्यक्रम चितवन कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।
