टेलिकमले ल्यायो ‘पे-एज-यु-गो’ नियन्त्रण गर्ने विकल्प

by onn

काठमाडौं, २५ चैत – नेपाल टेलिकमले ‘पे-एज-यु-गो’ नियन्त्रण गर्ने विकल्प ल्याएको छ। टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डेटा सुविधा ग्राहकहरूले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी (पे-एज-यु-गो) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफै पेजी सुविधा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्नेछ। त्यसपछि ४ नम्बर छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ थिच्न सकिन्छ। नेपाल टेलिकमले ग्राहकहरुको माग बमोजिम विभिन्न प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराइरहेको छ।

डेटा प्याकेज खरिद गरी सेवा उपभोग गर्ने ग्राहकहरुको सन्दर्भमा डेटा भोल्युम ८० प्रतिशत खपत भएको अवस्थामा डेटा भोल्युम समाप्त भए पश्चात वा डेटा प्याकेजको समयावधि समाप्त भए पश्चात ग्राहकहरुलाई जानकारी दिन एसएमएस पठाउने व्यवस्था मिलाइएकोमा अब ९० प्रतिशत खपत भएपछि एसएमएस मार्फत जानकारी गराइने छ।

डेटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भए पश्चात ग्राहकहरुले डेटा सेवाको प्रयोग निरन्तर राखेमा मेन ब्यालेन्सबाट डेटा चल्ने र चलेको भोल्युम अनुसार शुल्क काटिने व्यवस्था थियो।

प्याकेज खरिद गरेका ग्राहकहरूले यो सुविधा पहिले नै निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मेन ब्यालेन्सबाट डेटा चल्ने छैन। प्याकेज नलिई डेटा चलाउन आवश्यक भएका ग्राहकहरूले भने यो सुविधा सक्रिय राख्न सक्नेछन्। यसरी डेटा सेवा निरन्तर प्रयोग गर्दा पे जीमा नजाने व्यवस्थाका लागि विभिन्न माध्यमबाट अनुरोध गरिएको थियो।

नेपाल सरकार, मन्त्रिपरिषदको चैत १३ गतेको निर्णय बमोजिम नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत ‘पे-एज-यु-गो’ निष्क्रिय गर्ने विकल्प दिइने भन्ने उल्लेख छ।

मन्त्रालयको निर्देशन अनुसार पनि कम्पनीले पे-एज-यु-गो निष्क्रिय गर्ने विकल्प उपलब्ध गराएको हो। आगामी दिनमा नेपाल टेलिकम एपबाट समेत यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुनेछ।

सम्बन्धित खबर

Leave a Comment