एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदै

by onn

काठमाडौं, ८ असार — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ गरिएको छ।

प्रहरी तथा अनुसन्धान स्रोतका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आइतबार सुर्खेतबाट नियन्त्रणमा लिएको हो। उनी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका थिए।

पक्राउपछि उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि नेपालगञ्ज लगिएको छ। स्रोतका अनुसार उनलाई नेपालगञ्जबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई औपचारिक पत्र पठाएको थियो। सोही पत्रका आधारमा सुर्खेत प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

उच्च स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा देखिएका शंकास्पद आर्थिक गतिविधिसम्बन्धी विषयमा थप छानबिन गर्न उनलाई पक्राउ गरिएको जनाइएको छ।

हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले देशभर पार्टी पुनर्गठनका लागि सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमका लागि पौडेल सुर्खेत पुगेका थिए।

सम्बन्धित निकायहरूले घटनाबारे विस्तृत आधिकारिक जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ भने अनुसन्धान प्रक्रिया अघि बढिरहेको बताइएको छ।

सम्बन्धित खबर

Leave a Comment