काठमाडौं, ६ असोज – काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीको क्रममा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। ‘गएराति बस चालकको उपचारको क्रममा मृत्यु भएको छ,’ उनले भने।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान खुलिसकेको छैन। यसअघि ती व्यक्ति बागमती गाउँपालिकाका दावा लामा भनिएको थियो। त्यही नामको लाइसेन्स पनि प्रहरीले प्राप्त गरेको थियो।
तर अहिले दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि ती चालकको नाम नखुलेको हो। काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।
एसएसपी घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू खुलेका छन्।
पछि ती व्यक्तिको परिचय अर्कै हुनसक्ने प्रहरीले बताएको छ। सोमबार मध्यान्हमा त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएको भिडिओ पनि बाहिरिएको थियो। भिडिओमा उनले आफूले गल्ती नगरे पनि ट्राफिक प्रहरीले चिट काट्न खोजेको भन्दै आक्रोश पोखेको भिडिओमा देखिएको थियो।
विवादको क्रममा उनले सडकमा बस तेर्साएका थिए। पछि उनले बसस्टपमा लगेर बस रोकेका थिए। यात्रु सबै झरिसकेपछि उनले भित्र बसमा आगजनी गरेका थिए। आगजनीबाट उनीसमेत घाइते भए। प्रहरीले उनको उद्धार गरी कीर्तिपुर अस्पताल पठाएको थियो।
घटनाको छानबिन गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ। पाँच सदस्यीय समितिलाई चाँडो प्रतिवेदन बुझाउन भनिएको छ।
