बुटवल, २७ भदौ – अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची डीएसपी प्रतीकसिंह राठौरले बताए ।
घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।