चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र

by onn

काठमाडौं, २ फागुन – भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ।

भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन्।

नेपालमा शिवरात्रि राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा भव्य रुपमा महाशिवरात्री मनाइन्छ । शिवरात्रीमा शिवजीको आराधना गर्न देश–विदेशबाट लाखौं साधुसन्त, भक्तजन पशुपतिनाथ आउने गरेका छन् । साधु–सन्यासीहरूको ठूलो जमघट, भजन–कीर्तन, धूनी बाल्ने परम्परा र विशेष पूजा–आराधनाले पशुपति क्षेत्र लगायत काठमाण्डौं उपत्यका अत्यन्तै आध्यात्मिक वातावरणले शिवरात्रीमय हुन्छ ।

गुठी संस्थानले पशुपति मन्दिर परिसर लगायत सम्पूर्ण अखडाहरुमा साधुहरुलाई धुनी बाल्नका लागि तराई मधेशका जिल्लाहरुबाट अग्राखको दाउरा (मुढा) को व्यवस्था गर्दै आएको छ । यो वर्ष पशुपति क्षेत्रमा एकादशीदेखि औंशीसम्म धुनी बाल्न करिब ५० हजार किलोग्राम दाउरा व्यवस्था गरिएको छ ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले पनि शिवरात्री पर्व नेपालका लागि अत्यन्त महत्वपूर्ण छ । यो राष्ट्रिय पर्व भएकाले यस दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ ।

पुराणहरूका अनुसार शिवरात्रिको दिन भगवान् शिव पृथ्वीमा अवतरित भएका थिए भन्ने विश्वास छ । साधु–सन्यासीदेखि सर्वसाधारणसम्मको सहभागिताले शिवरात्रिलाई महान बनाएको छ ।

सम्बन्धित खबर

Leave a Comment