काठमाडौं, २५ श्रावण – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएर नुवाकोट, पंचकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका छन् ।
आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले अध्यक्ष राजेन्द्र लिङदेनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । राप्रपा परित्याग गर्नेहरू डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुने बताएका छन् ।
नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो र स्थानीय तहका नेता, कार्यकर्ताहरूको सामूहिक राजीनामा अएपछि राप्रपाबाट ठूलै हलचल मच्चिएको छ ।
राप्रपाबाट राजीनामा गर्नेहरूमा पंचकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन् । त्यसैगरी राप्रपाबाट अलग हुनेमा पंचकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनोज कुमार राई, वडा नम्बर ३ का अध्यक्ष राजु कार्की, वडा नम्बर ४ का अध्यक्ष भक्त बहादुर अधिकारी र वडा नम्बर ५ का अध्यक्ष कर्ण प्रसाद सिटौला लगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन् ।
