काठमाडौं, २० भदौ – आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बिमामा आबद्ध विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने महत्त्वपूर्ण निर्णयसँगै यो व्यवस्था लागू गर्न लागेको हो ।
हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले पाउँदै आएको यो सुविधा अब स्वास्थ्य बिमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ । मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेसँगै यो एकीकृत प्रणाली कार्यान्वयनमा आउने भएको हो । संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउने उपचार सुविधाको सम्पूर्ण भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत हुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो सुविधाको निरन्तरताका लागि हाल सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध हुनुपर्नेछ । उनले भने, ‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भन्ने उद्देश्यले हामीले आउँदो असोज मसान्तभित्र बिमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ ।’
यसका लागि स्वास्थ्य बिमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन सहितको पत्र पठाइसकिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । यो नयाँ व्यवस्थाले विपन्न नागरिकहरूको स्वास्थ्य उपचारमा पहुँच बढाउनुका साथै सरकारी सेवाहरूमा पारदर्शिता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।