काठमाडौं, २ असोज – नेपाली सेयर बजारमा आज तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि कारोबार बन्द भएको छ । निरन्तर ओरालो लागेको बजार ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार ५११.९१ अंकमा झरेको छ । यससँगै, लगानीकर्तामा निराशा छाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, आज २१७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ । दिनभरिमा ७२ करोड ८७ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार बजार खुल्नासाथ पहिलो २ मिनेटमै ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनः कारोबार सुरु हुँदा ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घट्न पुगेपछि फेरि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । तर, तेस्रो पटक पनि बजार सम्हालिन नसकी ६ प्रतिशतले ओरालो लागेपछि आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको हो ।
सेयर बजारमा आएको यो नाटकीय गिरावटले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । लगानीकर्ताहरू आगामी दिनमा बजारको चाल कस्तो रहला भन्ने अन्योलमा परेका छन् ।