काठमाडौं, ७ आश्विन – नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्ला केही दिनदेखि लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेर इतिहासकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबार मात्रै सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँमा कारोबार भएको छ । दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा सुनको मूल्यमा आएको यो ऐतिहासिक वृद्धिले गहना खरिद गर्ने उपभोक्ताहरूलाई प्रत्यक्ष असर पार्नेछ ।