ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

by onn

काठमाडौँ, २१ असोज – ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । कम्पनीका अनुसार यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिना देखि अधिकतम २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सकिने बताइएको छ ।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन् ।

उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।

यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरूप सक्रिय तथा निस्किन गर्न सक्नेछन् । साथै विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सकिने बैंकले जनाएको छ ।

नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुने बैंकले जनाकारी दिएको छ ।

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्ने बताइएको छ ।

बैंकले यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत सिधै बचत गर्न सकिने बताएको छ । साथै उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्छन् ।

यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत हेर्न सक्ने सुविधा समेत रहेको छ ।

सम्बन्धित खबर

Leave a Comment