प्रधानमन्त्री बालेन भारत प्रस्थान, भ्रमणमा पैँतीस सदस्यीय

by onn
Published: Updated:

काठमाडौँ, ६ मंसिर – प्रधानमन्त्री वालेन्द्र साह बालेन आइतबार भारतको दुईदिने औपचारिक राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र साह पैँतीस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेका छन्। भ्रमण टोलीमा प्रधानमन्त्री साहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम साह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन्।

यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब लगायत विभिन्न मन्त्रालय तथा सरकारी निकायका उच्चपदस्थ अधिकारीहरू टोलीमा रहेका छन्। 

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका निजी सचिवालयका कर्मचारी, प्रेस तथा सञ्चार सल्लाहकार, सुरक्षा अधिकारी र शिष्टाचार अधिकृतहरूसमेत समेटिएका छन्। सञ्चारमाध्यमका तर्फबाट गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिहरू पनि सरकारी भ्रमण टोलीमा समावेश छन्।   

दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ। वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, ऊर्जा, पूर्वाधार, आर्थिक साझेदारी तथा साझा हितका विषयमा छलफल हुने जनाइएको छ।  

प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।

सम्बन्धित खबर